लुम्फुङ्वाहरुको उदगम थलो सेरजङ

लुम्फुङ्वाहरुको उदगम थलो सेरजङ हो।नयाँ राज्य संरचना अनुसार हाल मेन्छ्यायेम गाउँपालिका 3र4 तेह्रथुममा पर्दछ।पहिले श्रीजुङ गाविस को रूपमा थियो । उक्त गाविस का -1,2,3,4,6 र 7 वडामा जम्मा गरि 85 घर लुम्फुङ्वाहरुको बसोबास रहेको छ। त्यस क्षेत्रमा लुम्फुङ्वा बाहेक हुक्पा चोङ्बाङ थरी लिम्बू मात्रै छन ,त्यसैगरी भट्टराई , बस्नेत,दाहाल ,भण्डारी ,तामाङ, शेर्पा ,र केहि शिल्पी हरु को बसोबास रहेको छ। यो भुभाग लिम्बू हरु को मुन्धुम मा वर्णित पवित्र स्थल मेन्छ्यायेम कोक्मा को काखमा अवस्थित छ। लुम्फुङ्वा वंश को इतिहास र सभ्यता सम्बन्धि ज्ञाता पुरुन्धोज लुम्फुङ्वा का अनुसार मेन्छ्यायेम कोक्मा मा युमा माङ ले तरुनी रुप धारण गरि जवान लिला गर्ने पवित्र स्थान हो,युमा माङ ले कोक्मा बाट से:रु चङ ओ( भुमि माथी शौच गरिन) बाट सेरजङ भयो ,सेरजङ बाट हाल आएर श्रीजुङ भएको हो। विभिन्न इतिहासकार ,संस्कृतिविद,मुन्धुमविद हरु ले उल्लेख गरे अनुसार मेन्छ्यायेम कोक्मा मा युमा माङ र पोरोक्मी यम्भामी माङ ले प्रेममय समय व्यतीत गरेको उल्लेख गरेको पाइन्छ भने ,समग्र लिम्बु जातिको चो:लुङ देन अर्थात सिद्दी प्राप्ति हुने पवित्र स्थान को रूपमा चर्चा गरेको पाइन्छ । प्राज्ञ बैरागी काइलाले मेन्छ्यायेम को चर्चा गर्दै मानव जातिमा सट फुट अर्थात पक्लुम को सुरुवात यसै स्थान बाट भएको उल्लेख गरेका छन,यसको मिथक पोरोक्मी यम्भामी माङ ले युमा संग बिहे गर्ने प्रस्ताव राखे तर इङ्वा मेनगाए( भाले नबासी ) घरबार बनाउनुपर्ने सर्त युमा माङ ले राखिन ।पोरोक्मी यम्भामी माङ घर बनाउन को लागि हालको नुनढाकी ( लुङ थाकी) गएर ढुंगा लिएर आउदा भाले बास्यो र युमा ले सर्त अस्वीकार गरिन।पोरोम्मी यम्भामी माङ ले ढुंगा त्यही घोप्टाएर हिडे तर पारी पुग्दा पनि उज्यालो नभए पछि रिसले मेन्छ्यायेम डाडा लाई भत्काउन ढुंगा ले हाने त्यही देखि पक्लुम अर्थात सट फुट को सुरुवात भएको हो। यस्तो पवित्र भुमि मा हाम्रो सभ्यता सुरुवात हुनु हाम्रो लागि सौभाग्य पनि हो। अहिले सेरजङ का लुम्फुङ्वा हरु 13 पुस्ता सम्म पुगेका छन यसलाई मानवशास्त्र लाई आधार मानेर सरदर हिसाब गर्ने हो भने करिब 300-देखि 325 बर्ष अगाडि हाम्रो पुर्खा को सभ्यता सुरुवात भएको आंकलन गर्न सकिन्छ । सेरजङ माथिको खर्क बनजंगल श्रीमाने डाडा देखि भिरकुना लाम पोखरी सम्म को भुभाग लुम्फुङ्वाहरु को किपोट हो । त्यसैगरी पारी सेखिम्बा माथिको सुन्धवा ,लसुने र सातपत्रे सम्म को जंगल पनि लुम्फुङ्वा हरु को भुमि हो।उक्त वन जंगल मा अत्यधिक रूपमा राष्ट्रिय फुल लालिगुरास,चाँप ,बहुमुल्य जडिबुटी हरु पाइन्छ ।पर्यावरण का हिसाबले अत्यन्तै सुन्दर भुमी छ। अहिले हाम्रो किपोट क्षेत्रमा सडक र विजुली पनि विस्तार भैसकेको छ । प्रसस्त प्राकृतिक श्रोत साधन हरु छन । यहाँ अनलोङ्वा( घोडा कुदाउने ठाउँ ) चार घरे,आजिराम ,खेसेक्बुङ,तुम्बाङ्योक ,थेगिम्बा लुबुङ्गा र सग्राते लगायतका गाउँ हरु मा लुम्फुङ्वा हरु को वस्ती छ। यसै गाउँ बाट अन्य क्षेत्रमा सबै लुम्फुङ्वा हरु बसाई सरिगएका हुन ,सबैभन्दा पहिले लाब्री ,त्यसपछि चौबीस ,हुँदै हाल संखुवासभा ,धनकुटा ,झापा सुनसरी ,मोरङ,काठमाडौ ,ललितपुर ,भक्तपुर ,सिक्किम ,दार्जिलिङ ,आसाम,मणिपुर,मेघालय ,र बेलायत सम्म बसोबास गरेको पाइन्छ।

नोगेन सेवारो

🙏🙏🙏