पहिलो संस्करण भुमिकाको अंश
बंशावली भन्नाले निश्चित जातीको थर सम्बन्धी इतिहासलाई प्रष्ट्याउँछ । नेपालको पूर्वी पहाड अरुण नदी पूर्व र मेची नदी पश्चिम (लिम्बुवान) याक्थुम्बा क्षेत्रमा विभिन्न थरका याक्थुम्बाहरु बसोबास गरेका छन् । यस क्षेत्र मध्ये फेदाप थुममा २ भाई याक्थुम्बा सिदिइङ र साङ्लाइङका सन्तानहरु २५ थरमा विभाजित भई भिन्ना भिन्नै थर नामाकरण गरेर बसोबास गरेका छन् भनी मुन्धुम (बेद) विज्ञहर बताउँछन् ।
सिदिइङका सन्तानहरुलाई सातराय पनि भन्दछन् । सातरायहरु, (१) खावापुङ, (२) तुम्बाहाम्फे, (३) हुक्पा चोङबाङ, (४) कुरुम्बाङ, (५) लुङफुङवा/लुम्फुङवा, (६) पोङयाङगु, (७) मादेम्बा ।
साङलाइङका सन्तानहरु १८ थरमा विभाजित भई बसोबास गरेका छन् । (१) निङलेकु, (२) पाहिङ, (३) हाङसरङ, (४) अङबेङगे, (५) इस्बो, (६) पेहिम, (७) सिङगेक, (८) पोङयाक, (९) पाङगेम्बा, (१०) चिल्लीपुङ, (११) वबुङज्ञाक, (१२) सुकवाबा, (१३) उगुवा, (१४) सेने, (१५) तेन्थुङ, (१६) थिगिम, (१७) सिङजाँगो, (१८) सदेम्बा ।
यो माथि उल्लिखीत थरहरु को जेठा को कान्छा सम्बन्धमा एकिन छुटयाइएको छैन । याक्थुम्बाबाट लिम्बु भन्न थालिएको छोटकरीमाः-
प्राचिनकालमा याक्थुम्बा क्षेत्रमा ८ आपुङ्गी राजाहरु थिए । केही समय पश्चात आपुङ्गी राजाहरु र याक्थुम्बाहरु बीच घमासान युद्ध भयो । युद्धमा याक्थुम्बाहरुले धनुबाँण चलाएर आपुङ्गी राजाहरुलाई पराजित गरे । लिम्बु भाषामा धनुबाँण चलाउनुलाई लि–आबु भन्दछ । धनुबाँण चलाएको हुनाले याक्थुम्बाहरुलाई लि–आबु भन्ने थाले । लि–आबु भन्ने शब्द अप्रभंश भएर लिम्बु हुन पुगेको हुनुसक्छ भनी मुन्धुम (बेद) विज्ञ बुढापाकाहरु बताउँछन् ।
(नोटः पहिलो संस्करणको भूमिका जस्ताको तस्तै राखिएको छ । यसमा हाल आएर एतिहासिक रुपमा नँया कुरापनि प्रकाशमा आएका छन् । केही टंकनमा पनि त्रुटी भएको हुन सक्छ । मुल कुरा आफूले आफैलाई के भन्ने वा भन्नका लागि एतिहासिक दस्तावेजहरु के के छन् भन्ने कुरा हो । त्यसैले पाठकले सो अनुसार बुझिदिन अनुरोध छ ।
– सम्पादक