साधारण सभा, २०४९

प्रस्तुत अभिलेख लुम्फुङवा कल्याणकारी संस्थाको पुरानो बैठक पुस्तिका (माइन्युट) को आधारमा तयार गरिएको छ । संस्थाको सांगठनिक इतिहासलाई जीवित राख्न र अहिलेको पुस्तालाई संस्थामा को को थिए भनेर जानकारी होस् भन्ने उदेश्यले प्रस्तुत लेख तयार गरिएको छ । प्रस्तुत लेख संस्थाको गतिविधी एवम् तिनको प्रभावकारितामा केन्द्रित छैन । भएपनि एकदमै थोरै र सान्दर्भिक मात्रै राखिएको छ । दुःखसाथ लेख्नैपर्ने के छ भने मिती २०५९ साल माघ १५ गतेदेखि २०७१ भदौसम्मको जम्मा १२ वर्षको बैठक पुस्तिका उपलब्ध हुन सकेन । त्यसैले त्यस अवधीको कार्य समितिको नामावली पुरा छैन ।

लुम्फुङवा कल्याणकारी संस्थाको इतिहासमा पहिलो भेला मिती २०४९ साल चैत्र १३ गते (तद अनुसार मार्च २६, १९९३) मोरंग जिल्ला स्थित आमबाडीमा क्या.नारायणसिं लुम्फुङवाको घरमा बसेको देखिन्छ । तराईबासी लुम्फुङवा परिवारको उक्त भेलाको बैठक पुस्तिका अनुसार सो बैठकमा को को सहभागी थिए भन्ने उल्लेख नभएपनि १० मुख्य र १ थप अतिरिक्तका साथ प्रस्ताव (निर्णय) पारित भएको देखिन्छ ।

सोही बैठकको प्रस्ताव १ मा संस्थाको नाम लुम्फुङवा कल्याणकारी संस्था् रहने भनि प्रस्ताव पारित भएको थियो । प्रस्ताव २ मा संस्थाको कोष निर्माण सम्बन्धी थियो । सो अनुसार हरेक लुम्फुङवा घरले शुरुमा रु. ५००।– पाँच महिनाभित्र तीन किस्तामा अनिवार्य बुझाउनुपर्ने भन्ने थियो । प्रस्ताव ३ मा प्रस्ताव २ अनुसारको रु. ५००।– बाहेक हरेक घरले हरेक महिना रु. १०।– को दरले संस्थामा लेवी जम्मा गर्नुपर्ने निर्णय भएको थियो । प्रस्ताव ४ मा संस्थाको सदस्यहरुलाई विभिन्न प्रकारको आर्थिक सहयोग प्रदान गर्नेबारे रहेको थियो । यस प्रस्तावमा ४ वटा खण्ड गरेर (क) मा संस्थाको सदस्य र सदस्यको परिवारलाई अचानक औषधी उपचार गर्न परेमा तीन महिनासम्म निर्व्याजि रु. ५००।– देखि रु. १,५००।– सम्म कर्जा दिने । (ख) मा मरिमराउमा रु. १,०००।– देखि रु. २,०००।– सम्म तीन महिनासम्म निर्व्याजिमा कर्जा दिने । (ग) मा संस्थाको सदस्यको छोरा वा छोरी राम्रो अंक ल्याएर एस्.एल्.सी.उतिर्ण गरेको र सो भन्दा माथि अभिभावक पढाउन असमर्थ भएमा संस्थाले पढाईमा लाग्ने खर्चको ५० % सहयोग गर्ने । र (घ) मा सदस्यहरुलाई कुनै दैवी वा प्राकृतिक प्रकोप जस्तैः– आगलागी, खोलो पहिरो आईलागे संस्थाले तोके (निर्णय) अनुसार सहयोग गर्ने उल्लेख भएको थियो । प्रस्ताव ५ मा माथि (ख) मा उल्लेख भएको घटना (मराउ पराउ) भएमा हरेक घरले २ केजी धानको चामल सहयोग गर्ने निर्णय भएको थियो । प्रस्ताव ६ मा कर्जा लिने सदस्यले तीन महिनामा कुनै हालतमा लिएको कर्जा रकम फिर्ता गर्नुपर्ने उल्लेख गरिएको थियो । प्रस्ताव ७ मा लिएको कर्जा तीन महिनामा नबुझाएमा संस्थाले तोकिएको बमोजिम ब्याज लाग्ने उल्लेख थियो । प्रस्ताव ८ मा संस्थाको सदस्यहरुको उपस्थितीमा वर्षमा १ पटक तोकिएको समय र स्थानमा बार्षिक साधारणसभा बोलाउने र उक्त बार्षिकसभामा आय व्यय विवरण प्रस्तुत गर्ने भन्ने उल्लेख गरिएको थियो । प्रस्ताव ९ मा बार्षिक साधारणसभाले यहाँ भएको दफाहरु थप घट गर्न सक्ने निर्णय भएको थियो । प्रस्ताव १० मा संस्थाको सदस्यहरुको नामावली अगाडीको पानामा उल्लेख गरिएको छ भन्ने छ (तर उक्त नामावली उपलब्ध छैन ।) अतिरिक्त थप प्रस्ताव दफामा माथि प्रस्ताव ४ को क र ख मा (औषधी उपचार र मराउ पराउ) उल्लेख भए अनुसार कर्जा लिएको तीन महिनामा नबुझाएमा तोकेको ब्याज कर्जा लगेको मितिदेखि नै कर्जा लानेले तिनुपर्ने भन्ने रहेको छ ।

यसरी लुम्फुङवा कल्याणकारी संस्था स्थापनाको मुख्य ध्येय बंशका सदस्यहरु विचमा कल्याणकारी काम गर्ने भन्ने बुझिन्छ । संस्थाले के कसरी आर्थिक जोहो गर्ने र के के मा कसरी कर्जा प्रवाह गर्ने भन्ने बारेमा प्रष्टताका साथ संस्था स्थापना भएको देखिन्छ । यसैगरी बार्षिक साधारणसभा, सभाले आय व्यय प्रस्तुत हने, नियमहरु फेरबदल गर्न सक्ने जस्ता कुराले संस्थामा शुसाषण प्रारम्भदेखि नै अपनाएको देखिन्छ । एक आपसमा के कसरी सहयोग आदान प्रदान गर्ने भन्ने बारेमा गहन छलफल गरेर निर्णयहरु भएको देखिन्छ ।

मिती २०५० साल बैशाख ३१ गतेका/मे ३१, १९९३ (पहिलो भेला भएको डेढ महिना पछि) दिन क्या.नारायणसिं लुम्फुङवाको घर दलानमा निजकै सभापतित्वमा बसी लुम्फुङवा कल्याणकारी संस्थाको सञ्चालक समिति (कार्य समिति) निम्नानुसार चुनिएको बैठक पुस्तिामा उल्लेख छ ।

१. सभापतीः क्या.नारायणसिं लुम्फुङवा, आमबाडी

२. कोषाध्यक्षः आशबहादुर लुम्फुङवा, धरान

३. सचिवः लालबहादुर लुम्फुङवा, धरान

४. सदस्यः नरबहादुर लुम्फुङवा, आमबाडी

५‍. सदस्यः शमशेरबहादुर लुम्फुङवा, कसेनी, पथरी

६. सदस्यः मानबहादुर लुम्फुङवा, राजघाट

७. सदस्यः सुरेन्द्रकुमार लुम्फुङवा, आमबाडी